नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पुनः तीव्र

2018-01-14 15:04:57
पटक पटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ। गत वर्ष भएको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीबीचको विवादका कारण बेला बेला उत्पन्न भएका अवरोधले निर्माण कार्य बिथोलिँदै आएकामा आयोजनाले नेपाली ठेकेदारलाई विदाइ गरिसकेको छ। अब चिनियाँ कम्पनी आफैंले पर्याप्त जनशक्ति थपेर कामलाई तीव्रता दिएपछि विमानस्थल निर्माण समयमै सम्पन्न हुनेमा आशा पलाएको हो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्व. सुशील कोइरालाले शिलान्यास गर्नुभएको थियो । तीन वर्ष अर्थात २०७४ पुस मसान्तभित्र निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने गरी आयोजना र ठेकेदार कम्पनीबीच सम्झौता भएपनि विभिन्न अवरोधका कारण अहिलेसम्म समग्रमा ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजनाका प्रमुख इन्जिनियर ओम शर्माले जानकारी दिनुभयो। उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले अहिले सन्तोषजनक रुपमा गति लिएका कारण आगामी एक वर्षभित्र आयोजनाको सम्पूर्ण काम सकिने दावी गर्नुभयो। उहाँले भन्नुभयो - “निर्माणाधीन विमानस्थलभित्रको सबैजसो अप्ठेरा कामहरु सकिएको छ। त्यसैले अबको एक वर्षभित्र विमानस्थलको काम सकिनेमा सबै ढुक्क हुन सकिन्छ।” स्तरोन्नति पछि बोइङ्ग, एयरबस जस्ता ठूला विमानहरुलाई पनि काठमाडौँको विकल्पको रुपमा भैरहवा उतार्न सकिने गोरखापत्र अनलाइनले जनाएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान